Sunday, 03 May 2026

राजस्व अनुसन्धान कार्यालय पथलैयाले लिलामीबाटै ८ करोड राजस्व संकलन

Must read

तुलसी भण्डारी वीरगन्ज भदौ अवैध कारोबारबाट जफत भएका सामान समयमा नै लिलामी गरिदिँदा मध्यमाञ्चल राजस्व अनुसन्धान कार्यालय पथलैयाले गएको एक आर्थिक वर्षमा मात्र ८ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । अवैध कारोबारबाट जफत भई अंगपूरा भएका सामान समयमा नै लिलामी गरिदिँदा मध्यमाञ्चल राजस्व अनुसन्धान कार्यालय पथलैयाले ८ करोडभन्दा बढी राजस्व संकलन गर्न सफल भएको हो ।

अंगपूरा भई विभिन्न समयमा जफत भइआएका सामान सड्न नदिई गएको आर्थिक वर्ष (०७२÷०७३)मा कार्यालयले लिलामी प्रक्रियामा जाँदा ८ करोड १६ लाख ३८ हजार ६ सय ४० रुपैयाँ राजस्व संकलन भएको मध्यमाञ्चल राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख ज्ञानेन्द्रराज ढकालले राजधानीलाई बताए । यो अघिल्लो वर्षको लिलामबाट संकलन भएको राजस्व रकमभन्दा ३ करोड ४२ लाख ८७ हजार ६ सय ४० ले बढी हो । पुनः प्रयोग गर्न मिल्ने सामान राज्यको मातहतमा आएपछि यतिकै सडाउनुभन्दा लिलामी प्रक्रियामा जाँदा उचित हुन्छ भनी कुल ४ सय ६५ मुद्दा संख्याको लिलाम गरिएको उनको भनाइ छ ।

‘यो मुद्दा संख्या पनि अघिल्लो वर्षको तुलनामा बढी नै हो । अघिल्लो आर्थिक वर्षमा लिलाम मुद्दा संख्या पनि ३ सय ८९ मात्र थियो,’ उनले भने । लिलाम भएका मुख्य वस्तुमा जिप, पिकअप, ट्याक्टर, जेसीबी, ट्रक, भ्यान, मोटरसाइकल, हार्डवेयरका सामान, बाथरुमका सामान, गुट्खा, पराग, सुर्ती, कस्मेटिक्सका सामान, रासायनिक मल, कुर्था सलवार, साडी तथा तयारी कपडा, स्टिलका भाँडा, तामा÷पित्तलका भाँडावर्तन, मोबाइल, सुपारी, सुटिङ–सर्टिङलगायतका सामान रहेको कार्यालयले जनाएको हो । राज्यको नियमनकारी निकायबाट जफत भई अंगपूरा हुँदै सरकारी स्वामित्वमा आइसकेका सामान यत्तिकै सडाएर राख्नुभन्दा पुनः प्रयोगमा ल्याउने गरी लिलाम गरिनु राम्रो संकेत भएको स्थानीयले पनि बताए ।

राजस्य अनुसन्धान कार्यालय पथलैयाले गएको वर्ष कुल राजस्व संकलन गरेको २० करोड ९७ लाख ३५ हजार ७ सय ७१ मध्ये गाडी चेकचाँचबाट ३ करोड ४२ लाख ८० हजार १ सय ८७ र अनुसन्धानतर्फबाट पनि ७ करोड ५ लाख ८८ हजार ६ सय ५८ रुपैयाँ राजस्व संकलन भएको राजस्व कार्यालय पथलैयाको तथ्यांकमा उल्लेख गरिएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Latest article